गुणस्तरीय प्रसूति सेवाका लागि सम्मानजनक मातृत्व

-सिर्जना शर्मा

‘४० वर्षको उमेरमा चौथो बच्चा पेटमा आयो। समस्या आउँछ कि भन्ने डरले लाज मान्दै सात महिना पुग्दा नजिकैको स्वास्थ्य चौकीमा जाँच गराउन गएँ। जाँच गराउने क्रममा ‘यस्तो उमेरमा पेट बोक्ने हो? यतिन्जेल जचाउन किन नआएको?’ भने। म केही बोल्न सकिनँ। त्यसपछि मेरो मनमा घरैमा सुत्केरी हुन्छु भन्ने विचार आयो।’

मातृ सेवा लिन स्वास्थ्य संस्थामा पुग्दा यस किसिमको व्यवहार पाउने मनमाया पुन पश्चिम नेपालकी एक प्रतिनिधि पात्र मात्र हुन्। सीमान्तकृत समुदायका अधिकांश महिलाले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने सन्दर्भमा यस्ता किसिमका समस्या बरोबर  भोगिरहेका छन्।

विकासोन्मुख देशमा बच्चा पाउने समयमा प्रसूति कक्षमा गरिएका अध्ययनहरुले देखाए अनुसार प्रसूतिका लागि स्वास्थ्य संस्था पुगेका महिला प्रसव पीडाका कारण रुने, कराउने छट्पटिने गर्छन्। बच्चा जन्माउन बल गर्न नसक्दा स्वास्थ्यकर्मीले उनीहरुलाई खस्रो बोली तथा शब्द प्रयोग गर्ने, कतिपय अवस्थामा त गर्भवतीलाई चिमोट्ने, कपाल लुछ्ने, थप्पड हान्ने, मुख बन्द गरिदिने जस्ता दुव्र्यवहार गर्छन्।

प्रसव व्यथा लागेका महिलालाई प्रसूति कक्षमा छोडी स्वास्थ्य सेवाप्रदायकहरु बेखबर भई अन्य काममा व्यस्त हुने, गर्भवतीलाई कम वा बढी उमेर रहेको कारण देखाई उपचार गर्न नमान्ने, तालिम प्राप्त नगरेका स्वास्थ्यकर्मीले प्रसूति गराउने, सामान्य रुपमा गर्नुपर्ने सेवा तथा दिनुपर्ने औषधि नदिने, उपचारमा ढिलाइ गर्ने, आफूलाई हौसला दिने वा माया र सहयोग गर्ने कुनै व्यक्ति साथमा राख्न नदिने तथा करकापमा पारी मन्जुरीका लागि सहीछाप लिने गरेका तथ्यहरु समेत अध्ययनले देखाएका छन्।

सम्मानजनक मातृत्वका सन्दर्भमा परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका डेपुटी डाइरेक्टर तथा चिफ कन्सल्ट्यान्ट डा श्रीप्रसाद अधिकारी भन्छन्, ‘सम्मानजनक मातृत्व गर्भवतीको सन्तुष्टि अनुरुपको सेवा प्रदान गर्ने एक नयाँ तथा प्रभावकारी दृष्टिकोण हो। सम्मानजक मातृत्व समग्र रुपमा स्वास्थ्य संस्थाको गुणस्तरीय मातृसेवाको आधार हो। तर अहिले पनि स्वास्थ्य संस्थामा महिलामाथि केही नमिठो व्यवहार भएको पाइन्छ। सेवाप्रदायकको कामको चापले प्रायः यस्तो हुने गर्छ।’ डा अधिकारी भन्छन् ‘सम्मानजनक मातृत्व सेवा सुनिश्चितताका लागि सेवाग्राहीसँग कसरी व्यवहार गर्ने, मातृत्व सेवाका सन्दर्भमा महिलामाथि सम्मानजनक बोली–व्यवहार गर्न किन जरुरी छ? यसो नहुँदा उनमा के–कस्तो नकारात्मक असर पर्छ? भन्ने कुरा समावेश भएको  Appreciative enquiry (सराहनीय बोली–वचन गरिने) तालिम सेवा प्रदायकलाई दिनुको साथै प्रसूति कक्षमा सुझाव पेटिका राख्ने र त्यसमा आएका गुनासा र सुझावलाई सम्बन्धित निकायले इमानदारिताका साथ सम्बोधन गर्न जरुरी छ।’

बच्चा जन्माउने समयमा महिलामा हुने अपमानजनक वचन तथा दुव्र्यवहारले महिलाको भावनामाथि कुठाराघात गर्छ। यो बेलामा समवेदनामा आघात पुग्दा आमामा प्रसूति पश्चातको डिप्रेसन सुरु हुन्छ। यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा दूरगामी नकारात्मक असर पर्न सक्छ। प्रसवावस्थामा शारीरिक यातना, गोपनीयता बिनाका गर्भ जाँच गर्ने कक्ष, अमर्यादित व्यवहार, गालीगलोज, प्रसूति कक्षको पानीको अभाव जस्ता कुरा सर्वसाधारण तथा विपन्न समुदायका महिला सहन बाध्य छन्। यी समस्याका विषयमा उनीहरु बोल्न सक्दैनन्। महिला हिंसा विरुद्धको विश्व अभियानले माहिलामाथिको कुनै पनि किसिमको दुव्र्यवहार चुपचाप सहने वा लुकाउने होइन, बरु यसबारे बोल्न र यससँग सम्बन्धित तथ्यलाई उदाङ्गो बनाउनका लागि आह्वान गरेको छ।

आमा तथा शिशुको स्वास्थ्य अवस्था राम्रो रहोस भन्ने उद्देश्यका साथ नेपालमा सुरक्षित मातृत्व कार्यक्रम सन् २००५ मा लागू गरियो। हालसम्म सुरक्षित मातृत्व कार्यक्रमले आमा तथा बच्चाको शारीरिक सुरक्षालाई ध्यान दिएको पाइन्छ। तर बच्चा जन्मने क्रममा महिलाको सामाजिक तथा भावनात्मक पक्षमा समेत गहिरो प्रभाव परेको हुन्छ। अतः यस पक्षमा समेत ध्यान पुग्न जरुरी छ।

स्वास्थ्य संस्थामा आफूले सोचे अनुरुपको नरम व्यवहार नपाएमा गर्भवतीहरु स्वस्थ्य संस्थामा जान आलटाल गर्छन्। जटिलता आएपछि स्वास्थ्य संस्थामा पुग्दा आमा तथा बच्चाको स्वास्थ्यमा समस्या आउन सक्छ। कतिपय अवस्थामा आमा तथा शिशुको ज्यानै समेत जान्छ। अतः स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाको संख्यामा वृद्धि गर्न समेत सम्मानजनक मातृत्व सेवामा सुधार ल्याउन जरुरी छ।

गर्भवती तथा सुत्केरी अवस्थाको स्याहारका लागि प्रसूति कक्षका स्वास्थ्य सेवा प्रदायकको ठूलो भूमिका हुन्छ। यो समयमा राम्रो व्यवहार पाएका आमामा आत्मविश्वास, आत्मबल बढ्छ, जसले गर्दा प्रसूति व्यथा कम हुन्छ। यसको विपरीत राम्रो बोलिवचन तथा सहयोग नपाएका आमाको प्रसव व्यथा लम्बिने र जटिलता हुने खतरा हुनसक्छ।

स्वास्थ्य संस्थामा प्रसूतिका लागि आएका कतिपय महिलाको गुनासोप्रति आफ्नो धारणा राख्दै कोशी अस्पतालकी नर्सिङ अफिसर तथा प्रसूति वार्डकी इन्चार्ज रम्भा सुब्बा भन्छिन्, ‘स्वास्थ्य संस्थामा महिलामाथि पहिलाको समयमा त शारीरिक, मौखिक दुव्र्यवहार हुने गरेको हामीले पनि देखेका हौँ। तर अहिले त त्यस्तो छैन।  तर अझै सुधार गर्नुपर्ने केही व्यवहार छन्। यस्ता व्यवहार हुनुका पछाडि विभिन्न तत्व रहेका छन्। सरकारी स्वास्थ्य संस्थामा सरदर एक नर्सले ५० जना बिरामीलाई सेवा पुर्‍याइरहेका छन्। कामको भार बढी हुँदा बोली–व्यवहार रुखो हुन पुग्छ। केही हदसम्म ‘हामी सेवा प्रदायक हौँ’ भन्ने पनि रहेको हुन्छ जस्तो लाग्छ।’

इन्चार्ज सुब्बा भन्छिन्, ‘स्वास्थ्य संस्थामा यस्तो व्यवहारमा कमी ल्याउन सम्मानजनक मातृत्व सेवाको विषयमा स्वास्थ्य सेवा प्रदायकलाई विस्तृत जानकारी गराउन जरुरी छ। स्किल वर्थ एटेन्डेन्स (एसबिए) तालिममा लैङ्गिक सचेतता तथा सम्मानजनक मातृत्वको विषय समावेश गरिएको छ। तालिमपश्चात सिकेका कुरा व्यवहारमा कसरी आइरहेको छ भन्ने कुराको खबरदारी वार्ड इन्चार्जले बरोबर राखेमा सम्माननजक मातृ सेवा प्रभावकारी हुनसक्छ।’

गर्भावस्था, प्रसवको बेला तथा सुत्केरी अवस्थामा महिलाले पाउनुपर्ने सेवाका सन्दर्भमा उनले कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना पाउनु हुन्न। महिला तथा उनको बच्चाले पाउने आवश्यक मातृत्व सेवालाई पूर्ण तथा सहज रुपमा ग्रहण गर्न कहीँ कसैले रोक्ने कार्य भएमा त्यो महिलामाथिको हिंसा हो।

महिलामाथि हुने भेदभाव तथा हिंसाको उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणालाई अधार बनाई ह्वाइट रिबन क्याम्पेनले सम्मानजनक मातृत्वका सन्दर्भमा महिलाले पाउनुपर्ने मुलभूत ७ वटा अधिकारलाई प्राथमिकतामा राखेको छ। उल्लेख भएका यी अधिकारहरु निम्न बमोजिम रहेका छन्ः

–   हरेक महिलाले बच्चा जन्माउँदा हानिकारक तथा गलत उपचार तथा मुक्त हुन पाउनु पर्छ।
–  महिलालाई सेवाको पूर्ण जानकारी पाउने, अनुमति दिने वा असहमति जनाउने अधिकार हुन्छ। साथै मातृत्व स्याहारको बेला उनले चाहेको व्यक्ति सुत्केरी गराउने ठाउँसम्म साथमा राख्न पाउनुपर्छ।
–  हरेक महिलालाई गोपनीयताको अधिकार हुन्छ। हेलचेक्र्याईं, यातना र दुव्र्यवहारबाट मुक्त हुन पाउनुपर्छ।
–  स्वास्थ्य संस्थामा महिलाले आदरपूर्ण बोलीवचन तथा सभ्य व्यवहार पाउनुपर्छ।
–  महिलाले भेदभावरहित, समान तथा समतामुलक सेवा पाउनुपर्छ।
– महिलाले विद्यमान उच्च तहको स्वास्थ्य सेवा पाउने अधिकार पाउनुपर्छ।
–  हरेक महिलालाई स्वतन्त्रता, आत्मनिर्णयको अधिकार तथा जबरजस्तीबाट बच्न निर्णय गर्ने अधिकार हुनुपर्छ।

प्रजनन् स्वास्थ्य सेवा महिलाको सार्वभौम अधिकार हो। जुनसुकै उमेर, शारीरिक बनोट, जात, वर्ण, धनी–गरिब हरेक महिलालाई आफूले चाहेको बेला आमा बन्ने अधिकार छ। र, स्वास्थ्य संस्थामा उनले माथि उल्लेखित मातृ सेवा पाउनुपर्छ।

अन्त्यमा 
हरेक वर्ष नेभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा लैंगिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान गरिन्छ। यस वर्षको यो विश्व अभियानको नारा “Orange the World: Fund, Respond, Prevent, Collect!” रहेको छ।

सुन्तला रङ हिंसामुक्त भविष्यको प्रतीक हो। संसारभरिका संघ–संगठनहरुले महिला तथा बालबालिका विरुद्धमा हुने हिंसा कम गर्न आवाज उठाइरहेका छन्। यस अभियानमा हामी पनि सहभागी बनौँ र स्वास्थ्य संस्थामा महिलाले सम्मानजनक मातृत्व सेवा पाउने अधिकारका लागि खबरदारी गरौँ।

(शर्मा गोल्डेन कम्युनिटीसँग आवद्ध छिन्।)