
नवजात शिशु बचाउका लागि ‘सुसार’ कार्यक्रम
अस्पतालमा शुरु भएको ‘सुसार‘ कार्यक्रमबारे गोल्डेन कम्युनिटीले पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम गर्यो । ‘सुसार‘ कार्यक्रमले अस्पतालहरुका प्रसुती कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई तालिम दिइ दक्ष बनाउने तथा अस्पताललाई आधुनिक उपकरण तथा प्रविधिहरु प्रयोगमा ल्याइ मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउने उदेश्यले सुसार कार्यक्रम सञ्चालन गरिएको कम्युनिटीकी संचार विज्ञ सिर्जना शर्माले जानकारी दिनुभयो ।
गोल्डेन कम्युनिटीले अस्पतालमा हुने प्रसुती समयको जटिलतालाई गुणस्तरिय व्यवस्थापन गर्न सहयोग गर्दै यसै कार्यक्रम अन्तर्गत कोशी अञ्चल अस्पतालका प्रसुती कक्षका स्वास्थ्यकर्मीहरुलाई हेल्पिङ्ग बेवी सर्भाइभ सम्बन्धी ४ दिने तालीम पनि दिएको छ । कार्यक्रमा गोल्डेन कम्युनिटीकी कार्यक्रम प्रवन्धक रेजिना गुरुङ्गले कोविडको महामारीका बीच पनि यो कार्यक्रम सञ्चालन हुनुले अस्पतालमा गुणस्तरीय सेवा प्रवाह भई सेवा ग्राहीले सुरक्षित प्रसुती हुने वातावरण प्राप्त हुने र आमा तथा शिशुको मृत्यु हुने खतरा कम हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक सुशीलनाथ प्याकुरेलले हरेक नागरिकको स्वास्थ्यलाई संविधानले मौलिक हकमा ग्यारेन्टी गरेकाले जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गर्भवतीलाई ढिलो गरी अस्पताल पुर्याउनु, यातायातको सहज पहुँच नहुनु, अस्पताल पुगेपछि पनि सहि समयमा सहि उपचार नपाउनु जस्ता कारणले शिशु मृत्यु धेरै हुने गरेको बताउनुभयो ।
कोशी अञ्चल अस्पतालका निमित्त मेसु लक्ष्मीनारायण यादवले कोभिड १९ महामारीको बेला समेत अस्पतालमा मातृ शिशु सेवा नरोकिएको कुरा बताउँदै शुरुमा कोभिडका कारण अस्पतालमा प्रसुती गराउन आउने गर्भवतीको संख्यामा कमी आएको भए पनि यो अहिले सामान्य अवस्थामा आएको बताउनुभयो । उहाँले गत वर्ष सो अस्पतालमा ८ हजार २ सय ५२ प्रसुती भएकोमा ७ जना नवजात शिशुको मृत्यु भएको बताउनुभयो । पेरीनटेल डेथ १०१ जना र २ जना आमाको सुत्केरीपछि मृत्यु भएको जानकारी दिनुभयो ।