Nepal Govt. Reg. No.: 144333/072/073

01-5269167

Contact Us

मातृ तथा नवजात शिशु स्याहारमा कोरोनाको असर

Friday June 25, 2021

नोबल कोरोनाभाइरस अर्थात् “सार्स कोभ –२’ ले गर्दा हुने बिमारी कोभिड – १९ हाल विश्वव्यापी महामारीका रुपमा सम्पूर्ण जगत्कै लागि नयाँ चुनौती बनेको छ । पुरुष र महिला दुवैमा समानरुपमा संक्रमण हुने यस भाईरसको गर्भवती महिलामा के कस्तो असर पर्छ भन्ने अन्योल छ । रोग नयाँ भएको कारण पुरुष र महिला, वृद्ध र बच्चा, को उच्च जोखिममा हुन्छन् भन्ने किटान गर्न अझै गाह्रो छ ।

विश्व स्वस्थ संगठन र चीनले संयुक्तरुपमा १ सय ४७ गर्भवती महिलाहरुमा गरेको अध्ययनमा १५ महिलाको स्वास्थ्य स्थिति अति नै चिन्ताजनक र ८५ गर्भवती महिलामा गम्भीर संक्रमणको पुष्टि गरेको छ । यो आंकडा अन्य महिलामा हुने असरजस्तै हुन आउँछ । साथै, गर्भवती भएका र नभएका महिलामा देखिएका लक्षण र गम्भीरता पनि एकै किसिमका थिए । विज्ञहरुका अनुसार गर्भ अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण अन्य महिलाको दाँजोमा गर्भवती महिलाहरु उच्च जोखिममा हुन्छन् ।

नोबल कोरोनाभाइरस गर्भावस्थामा वा स्तनपानको बेला शिशुमा सर्न सक्छ कि सक्दैन भनेर भन्न सकिने अवस्था छैन । तथापि, अध्ययनहरुले गर्भे पानी र आमाको दूधको नमुनामा गरेको जाँचमा हालसम्म भाइरस नभेटिएको जनाएका छन् ।

कोभिड – १९ बाट संक्रमित आमाबाट जन्मिएका केही नवजात शिशुमा श्वास प्रश्वासमा समस्या आएको र कुनैको मृत्यसमेत भएको छ । तर, यसपछाडिको ठोस कारण भने खुल्न सकेको छैन । कोभिड – १९ को महामारी फैलिएको वर्तमान परिप्रेक्ष्यमा जनमानस स्वास्थ संस्थामा जान हिच्किचाउनु स्वभाविक हो । ‘‘मेरो कारण परिवारमा अरु कसैलाई रोग सर्ने त होइन’’ भन्ने संत्रास सबैमा छाएको छ । गर्भावस्थामा साता वा महिना दिनमा स्वास्थ्य संस्थामा नियमित जाँचका लागि पनि जानुपर्ने हुन्छ । तसर्थ, सामाजिक दूरी (सोसल डिस्ट्यान्सिङ) गर्भवती महिलाका लागि चुनौतीको रुपमा रहेको छ ।

यो अपरिहार्यतालाई सम्बोधन गर्न गर्भावस्थामा टेलिमेडिसिन सेवा तिलस्मी साबित हुनसक्छ । घरमै बसेर भिडियो कन्फरेन्समार्फत् पूर्वप्रसूति स्याहार गर्नाले कोभिड –१९ सर्ने जोखिम टर्न सक्छ ।

मास्क, पन्जा, गाउनजस्ता व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभावले कोभिड – १९ को महामारीमा अर्को भय निम्त्याएको छ । हाल देशका कैयौं स्वास्थ्य संस्थामा पीपीईको अभावसँगै प्रसूति व्यथा लागेको बेलामा गर्नुपर्ने आमाको जाँच, भ्रूणको मुटुको धडकनको परीक्षणमा कमी आएको छ। तसर्थ, आमा तथा नवजात शिशु उच्च जोखिममा परेका छन् । अर्कोतिर, यसका कारण गर्भवती महिला प्रसवको बेलामा रोग सर्नसक्ने डरले स्वास्थ्य संस्थामा आउन हिच्किचाउन सक्छन् । स्थानीय तहमै बढीभन्दा बढीरुपमा यस्ता सामग्रीको उत्पादन बढाउनु कोभिड –१९सँग लड्ने दरो उपाय हुनसक्छ ।

कोभिड – १९ को उपचार र रोकथामका लागि औषधि र खोपहरु छिटै बन्ने सम्भावना देखिएको भए पनि गर्भवती आमा र भ्रूणमा हुनसक्ने असरका कारण उपचार त्यति सहज भने देखिँदैन । स्वाइन फ्लुको या इबोलाको संक्रमणमा गर्भवती महिलाले अन्य महिलाले भन्दा भ्याक्सिन ढिलो पाएको तथ्य विद्यमान छ ।

समग्रमा भन्नुपर्दा, टेलिमेडिसिन सेवा घरमै बसेर तौल, रक्तचाप, भ्रूणको चाल, मधुमेहको निगरानी र आवश्यकताअनुसार विज्ञ डाक्टरहरुको परामर्श सेवा यो परिस्थितिमा गर्भवती महिलाहरुमा वरदान पाए तुल्य छ । मातृ तथा नवजात शिशु स्याहारको क्षेत्रमा काम गर्ने सम्पूर्ण निकाय, संघसंस्थाले यसमा ध्यान केन्द्रित गर्दै सुत्केरी आमाहरुको हकमा मनोसामाजिक र स्तनपान सम्बन्धी अनलाइन परामर्श सेवा दिने बारे पनि शीघ्र कदम चाल्नुपर्छ ।

(गोल्डेन कम्युनिटीसँग सम्बद्ध)