विश्वमा हरेक वर्ष करिब १३ करोड शिशु जन्मन्छन्। १० मध्ये १ जना शिशु जन्मनासाथ रुँदैनन्। शिशुको जीवन उसको स्वस्थ श्वासप्रश्वासमा भर पर्छ। जन्मँदा निस्सासिएका वा श्वास फेर्न नसकेका शिशुको जीवन जोखिममा हुन्छ। ग्लोबल प्रोटोकलले जन्मदा ‘नरोएका’ शिशुलाई ‘श्वास फेर्न नसकेको’ संकेतका रुपमा लिएको छ। तर यी दुईको बीचमा कस्तो सम्बन्ध छ र शिशु मृत्युमा यी दुईले कस्तो जोखिम पु¥याएका छन् भन्नेबारे विस्तृत अध्ययन–अनुसन्धान अहिलेसम्म भएको छैन।जन्मदा श्वास फेर्न नसक्ने तथा नरुने शिशु नेपालमा कति संख्यामा हुन्छन्?, जन्मँदा श्वास फेर्न नसक्नुको पछाडि के–कस्ता कारण छन्? जन्मँदा श्वास फेर्न नसकेका वा नरोएका शिशुको जीवन रक्षाका लागि व्याग एन्ड मास्क भ्यान्टिलेसनको आवश्यकता तथा डिस्चार्ज हुनुअघि नै मर्ने नवजात शिशुको संख्याबारे जान्न उप्सला विश्वविद्यालय, स्विडेनको साथमा नेपालका ४ वटा सरकारी अस्पतालमा एक अध्ययन गरिएको थियो। यो अध्ययन २०२० मे महिनाको पेडियाट्रिक मेडिकलमा जर्नलमा प्रकाशित भएको छ। यो नेपालमा गरिएको पहिलो अध्ययन हो।एउटा बच्चाले जन्मेपछि स्वास्थ्य जीवन पाउने निश्चितता उसको मुटुको चाल तथा जन्मने बित्तिकै सुरु हुने सामान्य श्वासप्रश्वास प्रणालीबाट हुन्छ। शिशु समय नपुगी जन्मेमा (प्रि-म्याच्युरिटी) वा जन्मिने क्रममा जटिल समस्याहरु आएमा उसको श्वासप्रश्वासमा अवरोध आउन सक्छ। जसका कारण शिशुको वृद्धि विकासमा सुस्तता आउने, अपांग हुने वा मृत्यु नै हुनसक्ने खतरा हुन्छ।
यो अध्ययन ठूलो संख्याको नमुना लिई (१९,००० नवजात शिशुमा) गरिएको थियो। यो अध्ययनको प्रमुख उद्देश्य जन्मदा नरोएका तथा श्वास नफेरेका शिशुलाई तीन वटा समय विन्दुमा (जन्मनासाथ, जन्मेको १ मिनेटमा र जन्मिएको ५ मिनेटमा) विश्लेषण गर्नु हो। यो अध्ययन–अवलोकनमा आधारित गरिएको भए पनि नवजात शिशुको डिस्चार्जको समयमा आएको नतिजाको विवरण भने अस्पतालको नवजात शिशु रेकर्ड रजिस्टरबाट लिइएको हो।
यो अध्ययनले नेपालका सरकारी अस्पतालहरूमा पेरिनेटल गुणस्तर सुधारको मूल्यांकन गरेको थियो। सो अध्ययन विस्तारित र आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा प्रदान गर्ने देशका ४ वटा रेफेरल अस्पतालहरु कोशी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको थियो।
१५ महिनाको अध्ययन अवधिभित्र अस्पतालमा भर्ना भएका ३३,४३० जना गर्भवती महिलामध्ये २६,३४५ जनालाई अध्ययनका लागि योग्य मानिएको थियो र त्यसमध्येकै २२,३४० (८४.८ प्रतिशत) महिलाले अध्ययनका लागि सामिल हुन सहमति जनाएका थिए। सामेल भएका महिलामध्ये १८३ (०.८ प्रतिशत) जनाले मृत शिशु जन्माएका थिए, १६९ (०.८ प्रतिशत) जना महिलाको नवजात शिशुको मृत्यु भएको थियो र ८ प्रतिशत महिलाको फलोअपका क्रममा सम्पर्क छुटेको थियो।
ग्लोबल बर्डन अफ डिजिज इस्टिमेट्स, २०१६ का अनुसार २१ लख शिशुको मृत्यु प्रसव व्यथाको क्रममा आउने जटिलताका कारणले हुने देखिएको छ। त्यसमध्ये १२ लाख शिशु मृत जन्मिने तथ्यांक आएको छ। प्रायजसो शिशुको मृत्यु निम्न तथा मध्यम आय भएका देशहरुमा हुन्छन्, जहाँ पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको हुन्छ। यस्ता ठाउँहरुमा गुणस्तरीय प्रसूति सेवा तथा बच्चा जन्मिएपछि प्रदान गरिने सेवाको अत्यन्त जरुरी हुन्छ।
यस अध्ययनले जन्मदा नरुने वा श्वास नफेर्ने शिशुबारे थप कुरा अध्ययन गरी प्रकाशमा ल्याएको छ। यो अध्ययनले श्वास फेर्न नसकेका सबै शिशु रुन नसक्ने थिए भन्ने देखाएको छ। त्यस्तै नरुने आधाजसो शिशु श्वास फेर्न पनि नसकेका थिए। श्वास फेरेका तर रुन नसकेका शिशुलाई व्याग एन्ड मास्कबाट कृत्रिम श्वासप्रश्वास दिई बचाइएको थियो। जन्मदा श्वास फेरेका तर रुन नसकेका शिशुहरुको अस्पतालबाट डिस्चार्ज हुनुअघि नै मृत्यु हुने सम्भावना १२ गुणा बढी रहेको पनि अध्ययनले देखाएको छ।
अध्ययनले देखाएअनुसार अहिलेसम्म ३३ प्रतिशत नवजात शिशुको मृत्युको कारण जन्मदा श्वास फेर्न नसक्नु हो। यसैले जन्मदा श्वास फेर्न नसकेका शिशुलाई इभेक्टिभ भेन्टिलेसन अर्थात् कृत्रिम श्वासप्रश्वास गराउन आवश्यक हुन्छ। शिशुलाई जन्मनासाथ जतिसक्यो चाँडो श्वासप्रश्वास गराउनु पर्छ। एक मिनेटभित्र श्वासप्रश्वास गराउन सकेमा शिशु बाँच्ने तथा उसको पछिको जीवनको वृद्धि विकासमा सुस्ताता आउने, लुलो–लंगडो वा मस्तिष्कघात जस्ता समस्या नआई स्वस्थ जीवन बाँच्न सक्छ।
जन्मनासाथ शिशु रुन अनिवार्य छ। योे रुवाइले उसको स्वास्थ्य श्वासप्रश्वासको सुनिश्चितता गर्नुका साथै फोक्सोको तरल पदार्थ सफा राख्न गर्न मद्दत गर्छ। यसले फोक्सोको कार्यशील क्षमतालाई मजबुत बनाउन पनि सहयोग पु¥याउन सक्छ। जन्मदा नरुनुको साथसाथै आमालाई प्रसूति अवस्थामा डिप्रेसन भयो भने शिशुको मृत्युदरको जोखिम बढ्न सक्छ।
नेपालका अस्पतालहरुमा जन्मदा निस्सासिने र श्वास फेर्न नसक्ने शिशुलाई एउटै समस्याको रुपमा बुझी उपचार गरिँदै आएको छ। यसै सम्बन्धमा अत्यधिक संख्यामा प्रसूति गराइने केही अस्पतालका डाक्टर तथा नर्सहरुको भनाइ यहाँ प्रस्तुत गरिएको छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी वरिष्ठ नवजात शिशु तथा बाल रोग विषेशज्ञ प्राडा कल्पना सुवेदी भन्छिन्ः
३३ प्रतिशत नवजात शिशुको मृत्युको कारण जन्मदा श्वास फेर्न नसक्नु हो। जन्मदा निस्सासिने र श्वास फेर्न नसक्नेलाई हामीले एउटै रुपमा लिई उपचार दिइरहेका छौँ। शिशु जन्मदा रुन सकेन भने सुुरुमा स्टिमुलेसन गर्छौँ। त्यतिले अवस्थामा सुधार नआए सक्सन गर्छौँ र तेस्रो चरणमा व्याग एन्ड मास्कको जरुरत भए सो गर्छौँ। शिशुको अवस्था हेरी एनआइसियुमा केही समय वा केही दिन अवलोकनका लागि राखिन्छ। सामान्य निस्सासिएका शिशुलाई भने रोएपछि आमालाई दिने गरिन्छ। फलोअपमा डिस्चार्ज भएको ३ दिनपछि आउन भन्छौँ।
यसै सम्बन्धमा भरतपुर अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुनिलमणि पोखरेल भन्छन्ः
नरुनु र श्वास फेर्न नसक्नु भनेको एउटै हो। श्वासमा समस्या आउँदा नै शिशुले जन्मदा रुन नसक्ने हो। त्यसैले हामी यी दुवैलाई एउटै कुरा मान्छौं। यस्तो शिशुको अवस्था हेरी स्टिमेलेसन सक्सनमात्र गर्ने कि व्याग एन्ड मास्कबाट कृत्रिम श्वासप्रश्वास गराउने हामी विचार गर्छौं। र, प्रोटोकलअनुसार उपचार गर्छौं। शिशुको अवस्था सुस्त लागेमा नवजात शिशु विज्ञ डाक्टरले हेर्नुहुन्छ र आवश्यक उपचारका लागि सल्लाह दिनुहुन्छ। हाल भरतपुर अस्पतालमा निस्सासिएका शिशुको उपचार वैज्ञानक पद्धतिबाट हुने गरेकोले सबै व्यवस्था राम्रो छ।
ललिता जोशी डडेल्धुरा अस्पतालकी प्रमुख अस्पताल नर्सिङ निरीक्षक हुन्। उनी भन्छिन्ः
सुरुमै शिशु नरोएपछि श्वास फेरेको छैन भन्ने बुझी पहिला स्टिमुलेसन, त्यतिले नभएमा सक्सन र अन्त्यमा आवश्यक परेमा व्याग एन्ड मास्कबाट भ्यान्टिलेसन गराउँछौँ। जन्मदा नरुने र श्वास फेर्न नसक्नुका बीचमा के फरक छ, जानकारी छैन। किनकि प्रोटोकलमा हालसम्म यसमा फरक जनाइएको छैन।
शिशुले राम्ररी दूध चुसेको, दिसापिसाब राम्ररी पास भएको, हेर्दा एक्टिभ देखिएको अवस्थामा डिस्चार्ज गर्छौँ। फलोअपका लागि भने प्रोटोकलअनुसार हामीले भन्ने गर्छौं। तर आमाहरु टाढाटाढा हुने हुँदा कोही पनि आउँदैनन्। ठूलै समस्या परेमा मात्रै आउँछन्।
यी विज्ञहरुका कुराबाट हामी के निष्कर्षमा पुग्छौं भने अस्पतालहरुमा जन्मदा निस्सासिएका तथा श्वास नफेरेका शिशुलाई जतिसक्दो चाँडो श्वास–प्रश्वासमा सहयोग पु¥याउने गरिएको छ। तर जन्मदा नरोएका शिशुलाई भने अतिरिक्त स्याहार गर्ने प्रोटोकल वा व्यवहार छैन।
अध्ययनको निष्कर्ष पनि के छ भने, जन्मदा ‘श्वास नफेरेका’ हरेक शिशु जन्मका बेला रुँदैनन्। अध्ययनले ‘नरुने’ र ‘श्वास फेर्न नसक्ने’ बीच गहिरो सम्बन्ध रहेको पुष्टि गर्छ। अध्ययनले के देखाएको छ भने, रुन नसकेका तर श्वास फेरेका शिशुलाई पनि अतिरिक्त स्याहारको आवश्यकता हुन्छ। त्यसैले यस्ता शिशुलाई तुरुन्त कृत्रिम श्वास–प्रश्वासको व्यवस्था मिलाउनु पर्छ।
(लेखक उप्सला विश्वविद्यालय स्विडेनमा पोस्ट डक्टरेट सोधकर्ता हुन्।)