आमा तथा नवजात शिशुले स्वास्थ्य संस्था तथा सेवाप्रदायकबाट सम्मानजनक सेवा पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तर, स्वास्थ्य संस्थामा आवश्यक सेवा नहुँदा आमा र शिशु दुवै बाँच्ने सुनिश्चितता गर्न नसक्ने अवस्था छ ।सहस्राब्दी विकास लक्ष्य (२०००–२०१५) अवलम्बन गरिँदा हासिल गरेको ज्ञानले भन्छ, शिशुको मृत्युदरमा थप कमी ल्याउनका लागि प्रसवका वेलाको स्याहारमा सुधार गर्न अति आवश्यक छ । नेपालमा हरेक वर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् । त्यस्तै, करिब १३ हजार नवजात शिशु महिना दिन नपुग्दै मर्छन् । ५० प्रतिशतको मृत्यु प्रसव अवधिमा हुने गर्छ ।नेपालको स्वास्थ्य तथा जनसंख्या सर्वेक्षणको तथ्यांकअनुसार हाल नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या ५७ प्रतिशत पुगेको छ । तर, स्वास्थ्य संस्थामा न्यून गुणस्तरको सेवाका कारण प्रसवको समय हुने शिशुको मृत्युदरमा अपेक्षित मात्रामा कमी ल्याउन सकिएको छैन ।
गुणस्तरीय स्याहार भनेको व्यक्ति तथा बिरामी जनसंख्यालाई प्रवाह गरिएको स्वास्थ्य सेवाले उनीहरूले इच्छाएअनुसार स्वास्थ्य अवस्थामा सुधार ल्याउनु हो । यसका लागि स्वास्थ्य सेवा सुरक्षित, प्रभावकारी, यथासमयमै प्राप्त गर्न सकिने, सीपमा आधारित, समान व्यवहार र सेवाग्राहीमुखी हुनुपर्छ । मातृ तथा नवजात शिशु स्याहारको हकमा यो अझ महत्वपूर्ण हुन्छ, किनभने स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा गुणस्तरीय पक्षलाई ध्यान दिन सकेमा मात्र मृत्युदरमा उल्लेख्य कमी ल्याउन सकिन्छ ।
सहस्राब्दी विकास लक्ष्यअन्तर्गत संसारभर मातृ तथा नवजात शिशुको मृत्यु धेरै हदसम्म घटेको छ । यद्यपि, अझै पनि धेरै आमा तथा नवजात शिशुले आवश्यक स्याहारको कमीका कारण अकालमै ज्यान गुमाउनुपरेको तितो यथार्थ हामीसामु छ ।
धेरैजसो समस्या उचित समयमै आवश्यक स्याहार प्रदान गर्न सकेको खण्डमा न्यूनीकरण गर्न सकिने खालका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् २०१५ सम्ममा बाल बचाउसम्बन्धी विभिन्न कदमका कारण अपेक्षाअनुसार बालमृत्युदर घट्न सक्यो । तर, त्यही अनुपातमा मातृमृत्युदर भने कम हुन सकेन ।
अझ लक्ष्यअनुसार नवजात शिशु मृत्युदरमा कमी त आउनै सकेन । यसको प्रमुख कारण स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवाको कमी हो । हाल लागू भएको दिगो विकास लक्ष्यअन्तर्गत हामीले सन् २०३० सम्ममा मातृ तथा नवजात शिशु मृत्युदरमा उल्लेख्य सुधार ल्याउनु छ । यो लक्ष्य तब मात्र सम्भव छ, जब हामीले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तरमा आवश्यक सुधार ल्याउन सक्छौँ ।
नेपालका प्रत्येक नवजात शिशुसम्बन्धी कार्ययोजना २०१६ को तथ्यांकअनुसार पनि नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको मानव संसाधन हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा हाल प्रति १० हजार जनसंख्याका लागि सातजना स्वास्थ्यकर्मी उपलब्ध छन् । यो संख्या पनि मुख्यतः सुगम ठाउँमा उपलब्ध छन् । जसले गर्दा दूरदराजका केही स्थानमा त त्यो अनुपात झन्डै शून्य छ । अस्पतालमा आउँदैमा शिशु मृत्युदरमा कमी आउने होइन, स्वास्थ्य संस्थामा जन्मेका नवजात शिशुलाई समयमै गुणस्तरीय स्याहार दिए मात्र उनीहरूको जीवन रक्षा गर्न सकिन्छ
चिकित्सक भएका स्थानमा पनि तिनीहरू मातृ तथा नवजात शिशु स्याहार प्रदान गर्न सक्षम छैनन् । किनकि स्वास्थ्यकर्मीलाई मातृ तथा नवजात शिशु स्याहारसम्बन्धी आवश्यक तालिमको व्यवस्था गर्न सकिएको छैन । जतिलाई तालिम प्रदान गरिएको छ, तीसँग पर्याप्त उपकरण र साधन अपुग छन् ।
हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो छ, तर स्वास्थ्य संस्थामा न आवश्यक ताबमोजिम कर्मचारी छन्, न उपकरण नै । मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी ल्याउन स्वास्थ्य सेवाको गुणस्तर सुधार पहिलो आवश्यकता हो । यसका लागि स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मी तथा सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण हुन जरुरी छ ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाको संख्या ९५ प्रतिशत पु-याउने नेपाल सरकारको लक्ष्य छ । तर, अस्पताल आउँदैमा मात्र शिशु मृत्युदरमा कमी आउने होइन ।
स्वास्थ्य संस्थामा जन्मेका नवजात शिशुलाई समयमै गुणस्तरीय स्याहार दिएमा मात्र उनीहरूको जीवन रक्षा गर्न सकिन्छ । त्यसका लागि अस्पतालमा मातृ तथा नवजात शिशु वार्डका सबै कर्मचारीलाई उचित तालिमको व्यवस्था, आवश्यक उपकरणको उपलब्धता, जनशक्ति परिचालन, परामर्श, सूच
ना सम्प्रेषण तथा तथ्यांकसहितको मूल्यांकन विधि अपनाउनु अपरिहार्य हुन्छ ।
सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु उनीहरूको अधिकार हो । यो अधिकारको प्रत्याभूति गराउन हामी सबै लागिपर्नु जरुरी हुन्छ । यो कार्यको थालनी एउटा नवजात शिशु जन्मेदेखि नै सुरु हुन्छ ।