जीवनको आरम्भ जन्मबाट हुन्छ । जन्म कुनै यन्त्रबाट हुँदैन । शरीरमा प्राण भर्ने शक्ति आमामा मात्र हुन्छ । आफ्नो प्राण आहुति दिएर आमा सन्तानको जीवन जोगाउँछिन् । सन्तानलाई चरित्रवान्, गुणवान् तथा नैतिक बनाउन सर्वाधिक योगदान आमाको हुन्छ । आमाको त्याग, तपस्या तथा मायाको तुलनामा पृथ्वीमा अर्को उदाहरण पाइन्न । फ्रान्सका शासक नेपोलियन बोनापार्टले आमाहरुको प्रेरणालाई सफलताको सबैभन्दा ठूलो शस्त्र मान्दै ‘‘मलाई असल आमाहरु दिनुस् म तपाईँहरुलाई महान् राज्य दिनेछु ।’’ भनेका थिए । कति सार्थक छ आमाको जुनी !
यति महत्त्वपूर्ण भए पनि नारीले आमा बन्ने समयमा स्वास्थ्य संस्थामा सेवा प्रदायककोे रुखो व्यवहार तथा अनादर पूर्ण बोली बचनबाट मर्माहत हुनसपर्छ । यो समस्या विश्वभर नै रहे पनि विकासोन्मुख देशमा भने निकै व्यापक छ । हाम्रो जीवनमा खुसीका धेरै पल आउँछन् । पास्नी, न्वारान, ब्रतवन्ध, विवाहजस्ता अनेक सामाजिक रीतिरिवाज हामी उल्लासका साथ सम्पन्न गर्छौँ । यी अवसरका प्रमुख व्यक्ति विशेषलाई बधाई, शुभकामना, आशीर्वादका शुभ शब्द बर्साउछौँ । उनीहरुको मन आनन्दित हुने हाउभाव, व्यवहार गर्छौँ ।
सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा महान् क्षण हो । तर, यति विशिष्ट तथा गौरवमय अवसरमा भने प्रेम, आदर, सद्भावका कोमल शब्द सुन्नु /भोग्नुको सट्टा अनेक किसिमका अपमानजनक, अमर्यादित बोली तथा व्यवहार सुन्न /भोग्न नारी बाध्य हुन्छिन् । कति दुःखद !
बच्चा जन्माउने समयमा महिलामाथि हुने अनादरपूर्ण वचन तथा दुव्र्यवहारले उनको भावना कुण्ठित पारेको हुन्छ । यसबेलामा आमाको संवेदनामा आघात पुग्दा उनीलाई प्रसूति पश्चातको नैराश्य सुरु हुन्छ । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।
गर्भवती र सुत्केरी अवस्थाको हेरचाहमा लागि प्रसूति कक्षका स्वास्थ्य सेवा प्रदायकको ठूलो भूमिका हुन्छ । यस समयमा पाएको राम्रो व्यवहारले महिलामा आत्मविश्वास, अत्मबल बढ्नुुको साथै जीवनको लामो कालसम्म यसको सकारात्मक असर परिरहन्छ । अर्कातिर, राम्रो बोलीबचन तथा व्यवहार नपाए महिलामा भावनात्मक आधात पुग्न सक्छ । सुत्केरी हुँदाको घटना तथा भोगाइका क्षण महिलाको मनमा बाँचुन्जेल रहेको हुन्छ । यो अनुभव उनीले अन्य महिलाहरुलाई सुनाउने हुँदा अरुका लागि समेत यो हौसला दिने वा निराश बनाउने किसिमको हुन सक्छ ।
नेपालमा विपन्न तथा पिछडिएका समुदायका अधिकांश महिलाले बच्चा जन्माउने समयमा स्वास्थ्य संस्थामा अनेक दुव्र्यवहार तथा अपमानजनक शब्द सुन्दै भोग्दै आएका छन् । विकासोन्मुख राष्ट्रमा बच्चा पाउने समयमा प्रसूति कक्षमा गरिएको अध्ययनअनुसार त्यहाँ अधिकांश महिलाले बच्चा जन्माउनु केहीअघि, बच्चा जन्मदाको समयमा तथा जन्मेपछि स्वास्थ्य सेवा प्रदायकबाट हप्कीदप्की, पिटाइ, चिमोटाइ, सहने गरेका छन् । धेरैजसो महिलाले प्रसवका बेला आफूलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको, प्रसव व्यथा हल्का हुने औषधि नदिएको प्रसवका बेला उपयुक्त जाँच नगरी सुत्केरी गराएको अनुभव बताएका छन् ।
प्रसव बेथाभन्दा पहिला र सुत्केरी भएपछि राम्रोसँग जाँच नहुने, अझै कतिको त बलात्कारसमेत भएको जानकारी अध्ययनहरूबाट थाहा हुन्छ । कतिपय अवस्थामा प्रसव बेथा लागेका महिलालाई प्रसूति कक्षमा एक्लै छोडी स्वास्थ्य सेवा प्रदायकहरु बेखबर अन्य काममा व्यस्तहुने तथ्य पनि अध्ययनले देखाएको छ । कतिपय गर्भवतीलाई उमेरको कारण (ज्यादै कम उमेरको वा बढी उमेरको ) देखाइ उपचार गर्न नमान्ने, गर्भवतीको स्वीकृतिविना पुरुष डाक्टरले गर्भवतीको शारीरिक जाँच गर्ने, अश्लील शब्द बोल्नेजस्ता विभिन्न समस्या भोगेको पनि अध्ययनमा भेटिएको छ । यस्तै जातपात, धर्म निम्न सामाजिक ÷ आर्थिक स्तर, एचआईभी संक्रमण जस्ता कारणले महिलामा धेरै भेदभाव हुनेगरेको पाइन्छ । । यस सम्बन्धी कुनै विशेष अध्ययन नेपालमा नभए पनि अल्पविकसित राष्ट्रमा भएका अध्ययनको नतिजा हामीसँग धेरै मिल्दाजुल्दा हुन्छन् ।
बच्चा जन्मदिने समयमा शारीरिक यातना, गोपनीयताविनाका सुत्केरी कक्षहरु, गोपनीयता नभएका गर्भ जाँच कक्ष, अमर्यादित व्यवहार गाली गलौजजस्ता अपमान सहन नेपालका महिला विशेषगरी विपन्न परिवारका नारीहरू बाध्य छन् । यी समस्याका विषयमा उनीहरु बोल्न डराउँछन् । बोल्दा समस्या सुल्झनुको साटो बढ्ने हो कि ? वा हाल पाइरहेको सामान्य सेवा पनि अझ नराम्रो हुने वा गुम्ने हो कि भन्ने डरले उनीहरु त्रसित रहन्छन् र समस्या लुकाउँछन् । तर, मौनले समस्या झ्यांगिनेमात्र हैन कतिपय अवस्थामा त मृत्युसम्मै पुर्याउनेमा सबै सचेत हुनु जरुरी छ । ‘मी टु’ अभियानले आप्mना समस्या चुपचाप सहने वा लुकाउने हैन बरु बोल्न र यसलाई उदाङ्गो बानाउन महिलालाई प्रेरित गरेको छ । आफूलाई मन नपरेका वा नराम्रो लागेका कुरा सामाजिक सञ्जालमा राख्न पनि सकिन्छ ।
विश्वका सबै समाज तथा देशमा गर्भवती तथा सुत्केरी अवस्थालाई जोखिमपूर्ण अवस्थामा रुपमा हेरी विशेष महत्त्वका साथ ख्याल राखिन्छ । आमा तथा शिशुको स्वास्थ्य राम्रो रहोस् र मातृशिशु मृत्युदरमा कमी होस् भन्ने उद्देश्यले गर्भवतीलाई स्वास्थ्य संस्थामा गई सुत्केरी हुन प्रेरित गर्न नेपालमा सुरक्षित मातृत्व कार्यक्रम सन् २००५ मा लागु गरियो । हालसम्म सुरक्षित मातृत्व कार्यक्रमले आमा तथा बच्चाको शारीरिक सुरक्षालाई मात्र ध्यान दिएको पाइन्छ । तर, बच्चा जन्मने क्रममा महिलाको सामाजिक, सांस्कृतिक तथा भावनात्मक पक्षमा समेत महत्त्वपूर्ण प्रभाव परेको हुन्छ । स्वास्थ्य संस्थामा गर्भवतीले सम्मानजनक व्यवहार पाउन नसकेकै कारण धेरै महिला अझै घरैमा बच्चा जन्माउन रुचाउँछन् । सुरक्षित मातृत्वका सन्दर्भलाई फराकिलो पार्दै, शारीरिक पक्षको ख्यालको साथसाथ उनको भावनात्मक र संवेदनात्मक पक्षलाई समेत समेटी विश्वव्यापी महिला प्रजननसम्बन्धी अधिकारको उपभोग गर्न पाउने वातावरण महिलाले पाउनुपर्छ ।
महिलाहरु बच्चा जन्माउँदाको समयमा जोखिमा रहेका हुन्छन् । यस समयमा सुरक्षा राम्रो नहँुदा आमा र बच्चाको ज्यानै जान सक्ने समस्या त छँदै छ महिला जीवनभर मानसिकरुपमा सुस्त हुन सक्छिन् । विश्व स्वास्थ्य संगठनले बच्चा जन्माउने समयमा महिलाले पाउनुपर्ने महत्त्वपूर्ण ७ वटा अघिकारलाई प्राथमिकतामा राखिएको छ । यी अधिकारका विषयमा सरकारले कदम चाल्न अति आवश्यक भइसकेको छ । महिलाका यी अधिकार प्राप्तिका लागि संचार जगत्, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी लगयत सबैले आवाज उठाउनुपर्छ ।
सम्मानजनक मातृत्वका सन्दर्भमा गर्भावस्था, प्रसवका बेला, तथा सुत्केरी अवस्थामा महिलाले पाउनुपर्ने अधिकार निम्न छन् :
- महिलाले शारीरिकरुपमा कुनै पनि किसिमको यातना पाउनु हुन्न । बच्चा जन्माउँदा हुने हेलचेक्य्राइँ र हानिकारक उपचारबाट जोगिन पाउनुपर्छ ।
- सम्बन्धित महिलाको पूर्ण जानकारी तथा अनुमतिविना कसैले पनि करकापमा पारी सहीछाप गराउने, मन्जुरी लिनेजस्ता कार्य गर्न पाउनेछैन ।
- महिलाको व्यक्तिगत जानकारी कसैले पनि सार्वजनिक गर्न पाउनेछैन ।
- महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आएका समयमा सम्मानपूर्ण बोली, वचन तथा मायालु व्यवहार पाउनुपर्छ । कुनै पनि महिलालाई अपमानजनक शब्द भन्न तथा व्यवहार गर्न पाइनेछैन ।
- कमजोर स्थिति भएकै कारण महिलालाई कसैले होच्याउने वा जोखिमपूर्ण व्यवहार गर्न पाउनेछैन । आवश्यकताअनुसारको उचित हेरचाह तथा भेदभावरहित व्यवहार र सेवा हरेक महिलाले पाउनु पर्छ ।
- महिला तथा उनको बच्चाले पाउने आवश्यक मातृत्व सेवालाई ग्रहण गर्न कसैले पनि रोक्न पाउनेछैन् । साथै महिलाले समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ ।
- महिलाको स्वत्रन्त्रता, आत्मनिर्णयको अधिकार, तथा जबरजस्ती हुननदिने अधिकार सुनिश्चित गरिनुपर्छ ।
महिलाको प्रजजन स्वास्थ्यका विषयमा वकालत गर्ने विश्व अभियानकर्ता ‘ह्वाइट रिबन क्याम्पेन’ले बच्चा जन्माउने महिलाको सार्वभौम अधिकार भएकाले यो अधिकार प्राप्तिका बेला महिलाले समयमै तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेको छ । साथै गर्भावस्था, प्रसवावस्था तथा सुत्केरी अवस्थामा उनीमाथि कहीँ कतैबाट अपमानजनक शब्द, तथा दुर्यवहार हुनुहुँदैन भन्नेमा पनि जोड दिएको छ ।
ह्वाइट रिबन क्याम्पेनले महिलाको सम्मानजनक मातृत्वका लागि समुदायले समेत पहल गर्नुपर्नेमा जोड दिएको छ । केही राष्ट्रहरुले महिलाका समस्या सुनुवाइका लागि हटलाइनको व्यवस्था गरिसकेका छन् । स्वास्थ्य सेवा प्रदायकले आफूहरुसँग गरेका नराम्रा र अनादरपूर्ण वचन एवं व्यवहारलाई महिलाले हटलाइनमार्फत जानकारी गराउन वा उजुरी दिन सक्छिन् ।
नेपालमा सम्मानजनक मातृत्वका महत्त्वपूर्ण विषय स्वास्थ्य सेवा प्रदायकको तालिम पाठ्यक्रममा समावेश गर्न मन्त्रालयसँग पहल भइरहेकोे छ । कम स्रोत भएका स्वास्थ्य संस्थाहरुबाट समेत सम्मानजनक प्रसूति सेवा प्रदान गर्न स्वास्थ्य सेवा प्रदायकलार्ई तालिम तथा परामर्श दिनुपर्ने आवाज उठाइएकोे छ । मातृशिशु स्याहारको विषय विद्यालयको पठ्यक्रममा राख्नसमेत वकालत गरिएको छ । स्वास्थ्य संस्थाको सेवा सुधारका लागि स्वास्थ्य संस्थामा हुने चापका आधारमा थप सेवा प्रदायकको व्यवस्था हुनसके सम्मानजनक मातृत्वको अवस्थामा सुधार ल्याउन सकिन्छ ।
अन्त्यमा
आज अन्तर्राट्रिय महिला दिवस । महिलाहरुले आफ्नो हक अधिकारको लागि सम्बन्धित पक्षकोे ध्यानाकर्षण गराउने विशेष दिन । यस अवसरमा बच्चा जन्माउनु महिलाको सार्वभौम अधिकार हो भन्ने आत्मसात गरेर आमा बन्ने सम्पूर्ण महिलाले सम्मानजनक तथा प्रेमपूर्ण मातृत्व सुरक्षा बोध गर्नसक्ने परिस्थिति निर्माण गर्न राज्यका सबै निकायको ध्यान पुगोस् ।
सन्दर्भ: नारी दिवस